सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले घर नक्सा अभिलेखिकरण गर्न सूचना जारी गरेको छ । नगरले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४२ मा उल्लेख भए बमोजिम घर नक्सा पास सम्वन्धी विशेष व्यवस्थामा मापदण्ड पुगेका तथा स्थानीय सरकार सञ्चालन ऐन जारी हुनुभन्दा अघि नै निर्माण कार्य शुरु तथा सम्पन्न भइसकेका भवनहरुको अभिलेखिकरण गर्ने भएको हो ।
व्यवसायिक भवन बाहेक हाल नक्सा पास गर्न वा स्वीकृत नक्सा हेरफेर गर्न लाग्ने दस्तुरको तेब्बर लिएर पास गर्ने व्यवस्था रहेको प्रशासकीय अधिकृत बिबेक भण्डारीले बताएका छन् ।
२०७४ असोज २९ गते ऐन जारी भएपछि स्विकृति नलिई निर्माण भएका घर नक्सा अध्यावधिक गर्न समस्या भएकोले घर नक्सा ईकाईवाट राजश्व तिरी सम्पन्न प्रमाण पत्र लिन बाँकी रहेका जम्मा ११५ घरहरुको हकमा एक पटकका लागि तेब्बर दस्तुर लिएर सम्पन्न प्रमाण पत्र दिने नगरले निर्णय गरेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत पुस २९ गतेसम्म नगरपालिकाको एकीकृत घर नक्सा सफ्टवेयरमा दर्ता भएका २० वटा संख्याका घरहरुको नक्सा समेत सोहि वमोजिम गर्ने माथि उल्लेखित घरहरुको आ.व. २०७९/०८० को आषाढ मसान्त सम्ममा घर अभिलेखिकरणको प्रमाण पत्र लिई सक्नु पर्नेछ ।
२०७४ असोज २९ भन्दापछि बनेका संरचनाहरुको अभिलेखिकरणका लागि आर्थिक बर्ष २०७९/०८० को आषाढ मसान्तसम्म दर्ता हुने गरी अन्तिम पटकको लागि म्याद थप गर्ने निर्णय भएको जनाइएको छ ।
त्यसरी दर्ता हुन आउने घरहरुको हकमा नक्सा पास गर्न वा स्विकृत नक्सा हेरफेर गर्न लाग्ने दस्तुरको पाँच गुणा दस्तुर लिएर अभिलेखिकरण गर्ने गरी कनकाई नगर कार्यपालिकाको चैत्र ७ गते बसेको बैठकले निर्णय गरेको बताउँदै प्रशासकीय अधिकृत भण्डारीले आवश्यक कागजातहरुसहित अनिवार्य रुपमा तोकिएको अवधिभित्र निवेदन दर्ता गर्न सम्बन्धित सरोकारवालाहरुका लागि सूचनासमेत प्रकाशन गरेको बताए । नगरपालिका क्षेत्रमा घर र भवन निर्माण गर्नुपूर्व भवनसंहिता बमोजिम अनिवार्य निर्माण स्वीकृति लिएर मात्र निर्माण कार्य शुरु गर्नसमेत गरिएको छ ।
नक्शा पास प्रक्रिया बिना निर्माण कार्य गरेका घर र भवनहरुलाई २ लाखदेखि ५ लाख रुपैयाँ सम्म जरिवाना, घर संरचना भत्काउन सक्ने नगरपालिकाले जनाएको छ । उक्त प्रक्रिया पूरा गर्न जग्गा धनीको नागरिकता, धनी पुर्जा, मालपोत तिरेको रसिदको प्रतिलिपि एक/एकप्रति, जग्गाको वडा नक्सा/ फाईल नक्सा प्रतिलिपि एक÷एक प्रति, चार किल्ला प्रमाणित, जग्गाधनिको पासपोर्ट साईजको फोटो २ प्रति आवश्यक रहेको भण्डारीले जानकारी दिए ।