बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले ‘मिसन ग्रासरुट’ अभियानलाई मसिनो ढंगले अघि बढाएको बताएका छन् । उनले पार्टीले जनतासँग जोडिने र जनताले जनप्रतिनिधिसँग जोडिने गरी अभियानलाई अघि बढाएको बताएका छन् ।
बिर्तामोडमा फागुन १६ गते सम्पन्न नगर कमिटीको विस्तारित बैठक पछि मिसन ग्रासरुट अभियान तिव्रताका साथ अगाडी बढीरहेको छ । अभियानमा बिर्तामोडका १० वटैै वडाका टोल टोलमा पुगेर विभिन्न भेला, बैठक तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।
नगर कमिटी अध्यक्ष भट्टराईले बिर्तामोडका सबै वडाहरुमा फोकल पर्सन तोकेर अभियानलाई सक्रियताका साथ अगाडी बढाएको बताए । उाले सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र टोलस्तरीय प्रशिक्षण कार्यक्रमहरु समेत गरिरहेको जानकारी दिए ।
नेतृत्वमा रहेर जनतासंग जोडिन नसकेका र अपेक्षित विकास योजनाहरु गाउँघरसम्म जान नसकेका विषयमा केहि गुनासोहरु आउने गरेको अध्यक्ष भट्टराईले बताए । उनले एमाले प्रवेश गर्नेहरुको नामवली सबै वडाबाट संकलन गर्ने काम पनि भइरहेको र अभियानको अन्त्यमा एकमुष्ठ कार्यक्रम गरेर पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिए ।
अभियानमा नेकपा एमालेप्रति युवाहरुको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ । नयाँ सदस्यता लिनेहरुमा युवाहरु धेरै रहेको पाइएको हो । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देश भर सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभर चलिरहेको छ । अभियानमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका नेताहरुको सक्रियता छ ।