झापा ।
झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा शुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे उत्सहाजनक उपस्थिति देखिएको छ ।
यही चैत ८ गतेदेखि शुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुँदैछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेका छन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजन आफै उत्सहा साथआउने गरेकोे पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।
पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिदै आएको छ । करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको पुराणमा हिजो शनिवार मात्रै पन्ध्र हजार बढी भक्तजनले दर्शन गरेको गिरीले बताए ।
पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गरिएको हो ।
पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ ।। धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आएका त्यस्ता महानुभावहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गरिएको छ ।