बिर्तामोड । 

नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबिच समझदारी भएको छ । स्वारोजगारसहित उद्योग, व्यापार तथा आवद्ध व्यवसायीहरुको हकहित, अधिकारको सुरक्षाका लागि क्रियाशिल युनिकम नेपाल र वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएको हो । 

महासंघ कोशी प्रदेश र युनिकम नेपालबीच परस्पर हितका लागि सामाजिक सम्वादका माध्यमबाट भएको समझादारी पत्रमा बुधवार (आज) बिर्तामोडमा एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ । 

युनिकम नेपालका तर्फबाट केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र महासंघका तर्फबाट कोशी प्रदेश अध्यक्ष टिकाराज ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  

unicommm

अन्तर्राष्ट्रिय ट्रेड युनियन ‘युएनआई ग्लोबल युनियन’ सँग आवद्ध युनिकम नेपाल र महासंघ कोशी प्रदेशका बीच संवाद समूह झापाको संयोजनमा स्थानीयतह र सरोकार राख्ने सरकारी निकायका प्रतिनिधिहरु तथा अन्य सरोकारवाला समेतको रोहवरमा दुवै पक्षको परस्पर हितका लागि सामाजिक संवादका माध्यमबाट ११ बुँदे समझदारी गरिएको होे । 

सोही समझदारीबीच श्रम बजार अव्यवस्थित हुँदा त्यसको नकारात्मक असर उद्योगी, व्यवसायी, श्रमिक, ग्राहक र त्यसका अन्य सरोकारवालाहरु समेतलाई प्रत्यक्ष रुपमा पर्ने भएकाले एकअर्काका हितका लागि समझदारी गरिएको जनाइएको छ । स्वागतसहित समझदारी पत्रको औचित्यमाथि प्रकाश युएनआई ग्लोबल युनियन एशिया प्रशान्त संगठन तथा कार्यक्रम संयोजक तीलकजंग खड्काले पारेको कार्यक्रममा समझदारी पत्रको बाचन तथा कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । 

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतको उपस्थिति रहेको थियो ।