झापा । 

झापाको हल्दिबारी–२ को सरस्वती आधारभूत बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष इश्वरी दाहालको राजीनामा माग गरिएको छ ।ब्यवस्थापन समिति अध्यक्ष दाहालले बिद्यालयको हित विपरित कार्य गरेको आरोप लगाउँदै ब्यवस्थापन समितिका सात सदस्यीय र १ सय २६ जना अभिभावकले दाहालको राजिनामा माग गरेका हुन् ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलाई ज्ञापन पत्र बुझाउँदै उनको राजिनामा माग गरिएको हो । गत फागुन २२ गते शिक्षा समिति संयोजक समेत रहेका लिङ्देनलाई ज्ञापनपत्र बुझाईको ब्यवस्थापन समितिका पूर्व अध्यक्ष खकेन राजवंशीले बताए ।

बिर्तामोडमा शुक्रवार (आज) पत्रकार भेटघाटको आयोजना गर्दै राजवंशीले बिद्यालयको चौतर्फी बिकासका लागि आफू अध्यक्ष रहेको समयमा गरिएको विकास निर्माणका बिषयमा अख्तियारले चासो राख्दै गाउँपालिकालाई यथार्थ विवरण उपलब्ध गराउन माग गरेसँगै ब्यवस्थापन समिति अध्यक्ष दाहालले हस्ताक्षर नगरेपछि उनको काममा आशंका जनाउँदै राजिनामा माग गरिएको बताए ।

अख्तियारले बिद्यालयको जमिनमा निर्माणाधिन चतुरमान स्मृति कवर्डहल, माछा पोखरी र खैल मैदानका बिषयमा हुन सक्ने भष्ट्राचारको छानविनका लागि गाउँपालिकासँग यथार्थ विवरण मागेको थियो । कवर्ड हलका लागि तत्कालिन प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीमार्फत क्षेत्र विकास कोषको ३० लाख रुपैयाँ र दोस्रो चरणमा आठ लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँमा कवर्डहल निर्माण भइरहेको पूर्व अध्यक्ष राजवंशीले बताए ।

त्यस्तै ८ लाख रुपैयाँ बराबरको बिद्यालयको खेल मैदान निर्माण गरिएको र माछा पोखरी र कवर्ड हलका बिषयमा समेत अख्तियारले गाउँपालिकालाई के–कुन प्रक्रियाबाट निर्माण गरिएको भन्दै प्रश्न सोधेपछि बिद्यालयको बैठक बसी यथार्थ बिबरण उपलब्ध गराउन गरिएको निर्णयमा अध्यक्ष दाहालले हस्ताक्षर नगरेको उनको आरोप छ । गाउँपालिका अध्यक्ष लिङ्देनले समेत सो बिषयको निराकरणका लागि पहल नगरेको राजवंशीले आरोप लगाए ।

यता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दाहालले लेखा परीक्षण प्रतिवेदन आफुलाई नदेखाएकाले यथार्थ विवरण थाहा नभई वैठक पुस्तिकामा हस्ताक्षर नगरेको बताए ।