भद्रपुर । 

 त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा यस प्रत्येक २/२ वर्षमा हुनु पर्ने स्ववियु चुनाव ६ वर्षपछि यही चैत ५ गते, आइतबार हुँदैछ । 

लामो समयसम्म स्ववियु चुनाव हुन नसक्दा त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा शैक्षिक लगायतका विद्यार्थी हक–हितका गतिविधि चलायमान हुन सकेका छैनन् । उच्च शिक्षा अध्ययनरत समग्र विद्यार्थीका हक–हितका मुद्दा उठाउने स्ववियु नै नहुँदा विद्यार्थीहरू आफ्नो अधिकारबाट वञ्चित भएका छन् ।

झापा जिल्लामा त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा यसपटकको स्ववियु निर्वाचनमा विद्यार्थीको हक–हितका लागि निष्पक्ष र समतामूलक ढंगले काम गर्ने उद्देश्यका साथ विशाल गिरीको नेतृत्वमा अखिलको स्वतन्त्र संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । 

मेची बहुमुखी क्याम्पसका २०२२ सालदेखि हालसम्म स्ववियु निर्वाचनमा १५ पटक बामपन्थी दल समर्थित अनेरास्ववियु र ४ पटक नेपाली कांग्रेस समर्थित ने.वि.संघ निर्वाचित भएको इतिहासमा यसपालि पहिलो पटक सबै आस्थावाही विद्यार्थीहरूको हक–हितमा समान रूपमा समर्पित रहनेगरी स्वतन्त्र रूपमा प्यानल खडा भएको हो । शिक्षालयलाई राजनीतिक अखडा नबनाएर अध्ययनरत विद्यार्थीको पठनपाठनको प्राथमिक अधिकारलाई सुरक्षित गर्दै शैक्षिक उन्नयन र उज्ज्वल भविष्यमुखी वातावरणको निर्माणमा प्राध्यापक र विद्यार्थीसमान रूपमा जिम्मेवार हुनु पर्छ भन्ने मत सो स्वतन्त्र प्यानलको रहेको छ । 

समग्रमा, मेची क्याम्पसमा शैक्षिक सुशासन र विद्यार्थी वर्गमा अनुशासन कायम गर्न हरसम्भव अग्रसर हुने अध्यक्षका प्रत्याशी विशाल गिरीले बताएका छन् । ‘उच्च शिक्षा लिन क्याम्पसमा आएका सबैले त्रिवि.को तालिका मुताविक निर्वाध रूपमा पढ्न–लेख्न पाउनुपर्छ, ताकि यो वा त्यो बहानामा कसैको समय बर्बाद नहोस् र यथासमयमा विद्यार्थीहरूले भविष्यमा उपलब्धिपूर्ण यात्रा सफलतापूर्वक तय गर्न सकुन्’– भन्ने ध्येय भएको उनले सुनाए ।   

स्वतन्त्र विद्यार्थी युनियन विशुद्ध रूपमा विद्यार्थीहरूकै हक–हित र उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न स्थापना भएको साझा संस्था भएकोले सोही अभियानलाई बल पु¥याउन स्वतन्त्र प्यानल बनाएर चुनावमा होमिएको उनको भनाइ छ ।