बिर्तामोड  । 

 झापाको बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्ट रुपमा वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको विद्यालय पोषाक हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोषाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेका कारण पोषाक वितरण कार्यक्रम ल्याएको बताइन् । उनले यस कार्यक्रमले अभिभावकलाई सहज हुनुका साथै विद्यार्थीहरुमा एक रुपता आउने र पठनपाठनमा समेत अनुकुल वातावरण बन्ने बताइन् । नगरप्रमुख प्रसाईले कुनैपनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताइन् ।पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएको भन्दै नगर प्रमुख प्रसाईले भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुँदै आएको बताइन्।

सोही कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारी पूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए।उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे । नगरपालिकाले पोषाक वितरण कार्यक्रमलाई वार्षिक योजना अन्तर्गत राखेर महत्वका साथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउनसमेत सम्वन्धित सबैले ध्यान दिनु पर्नेमा जोड दिए।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोषाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताए । उनले यसवर्ष पनि ३ हजार ६ सय भन्दा बढी विद्यार्थीलाई पोषाक वितरण हुने जानकारी दिए। बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोषाक वितरण गर्दै आएको छ । 

पोषाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम,  निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव  उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बरबहादुर बस्नेत, शाखा अधिकृत दिनेशकुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका विच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ । ६५ औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरेका हुन् । नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गगरेको भन्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए।