झापा ।
अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाली दुई शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा आगामी मार्च २१ देखि २४ तारिखसम्म सञ्चालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज) एक बिश्व स्तरको अंग्रेजी भाषा शिक्षकहरूको संगठन हो।
यसको मुख्य कार्यालय अमेरिकामा रहेको छ। बिश्व भरका अंग्रेजी भाषा विद, प्रशिक्षक, शिक्षक र शैक्षिक सामग्री उत्पादक कम्पनीको सहभागिता रहने उक्त सम्मेलनमा ३५ सय बढीको प्रतिनिधित्व हुने आयोजकले जनाएको छ। विश्वका १८४ मुलुक सदस्य रहेको टिसोलमा नेपाल समेत सदस्य राष्ट्र हो।
यता झापा जिल्लाबाट पहिलो पटक उक्त सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेको नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए। उनले अंग्रेजी शिक्षकले पाउने अति नै महत्वपूर्ण अवसर भएको बताए। नेल्टा झापा जिल्लामा शैक्षिक गतिबिधिहरु सञ्चालन गर्दै आएको एक सशक्त स्वयंसेवी संस्था हो।
गुणस्तरीय शिक्षक मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले छोटो समयमै उचाई प्राप्त गर्न सफल भएको छ। यसैवर्ष नेपालका ५८ शाखालाई उछिन्दै उत्कृष्ट शाखा घोषणा गरिएको थियो। यससँगै नगद २ लाख रुपैयाँको अवार्ड समेत प्राप्त गरेको थियो।
अमेरिकी सरकारको सहयोगमा नेपाली प्रतिनिधिमण्डलको रुपमा उक्त सम्मेलनमा सहभागी हुन लागेको भट्टराईले जानकारी दिए। भट्टराई नेल्टाका केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष र दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् ।
भट्टराई यसअघि सन २०१९ मा दुबइमा भएको ग्लोबल टिचर्स अवार्ड सम्मेलन, सन २०२० मा श्रीलंकामा भएको स्लेलटेक सम्मेलन र सन् २०२२ मा भारतको बैंगलोरमा सम्पन्न एशियन एजुकेशन शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। अर्का सहभागी जेनी राई नेल्टा झापाकि जिल्ला समिति सदस्य तथा पूर्व एक्सेस शिक्षक र बिर्तामोडस्थित न्युटन एजुकेशन एकाडेमीकि अंग्रेजी शिक्षक हुन्।