झापा । 

झापाका बिभिन्न स्थानबाट २२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । झापाको बिर्तामोडबाट आठ जना, दमकबाट ११ जना काँकरभिट्टाबाट २ जना र चारआलीबाट एक जनालाई नियन्त्रणमा लिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनीहरुलाई जबरजस्ती बन्द गर्ने, सवारी साधनको चावी खोस्ने र तोडफोड गरेको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ । 

बिर्तामोडबाट कुमार साम्यु लिम्बु, सामी पालुङ्वा लिम्बु, गौरीमान राई, बिनोद न्यौपाने, राज खम्बु, ढेङमानहाङ लिम्बु, मित्र लिङ्देन र निर्मला लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले बताएका छन् । 

कोशी प्रदेश खारेजीको माग गर्दै छ वटा राजनीतिक दल र ३३ वटा जातीय संघ÷संगठनले आज कोशी प्रदेश बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु विरोधमा उत्रिएका हुन् ।  फागुन २८ गते आज बन्दको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रर्दशन गर्ने घोषणा समेत गरेका हुन् । 

कोशी प्रदेशको नाम कौशिक वाहुनको नाममा रहेको कोशी नदीवाट भएकाले त्यसलाई खारेज गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश १ को नाम पुन नामाङ्कन गरिनु पर्ने माग अघि सारेका छन् ।