सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण भएको छ । झापाको गौरादह ५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बांस्कोटाले आफ्नी स्वर्गिय माता इन्दिरा शर्मा भट्टराई, स्वर्गिय ससुरा दिननाथ बांस्कोटा तथा स्वर्गिय सासुआमा खिमादेवी बांस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निर्माण गरिदिएकी हुन् ।
कनकाईका सामाजिक अभियान्ता तथा समाजसेवी शेरबहादुर थापामार्फत विपन्न विद्यार्थी अध्ययनरत पुरानो सामुदायिक विद्यालयमा स्टेज अभावमा बिभिन्न समयमा हुने कार्यक्रम लगायतका गतिविधि गर्न समस्या भएको थाहा पाएपछि सहयोग गरेको बांस्कोटाले बताइन् । उनले समाजसेवी थापाको आग्रह र अनुरोधमा विद्यालयको भौतिक निर्माणमा सहयोग गरेको बताइन ।
स्टेजका लागि दाता परिवारबाट आवश्यक, रड, सिमेन्ट, जस्तापाता, फलाम, मिस्त्री ज्याला तथा रङरोगन गरि १ लाख ८१ हजार २ सय ५४ रुपैंया खर्च भएको जनाइएको छ । विद्यालयको रजत महोत्सव तथा २६ औं बार्षिकेत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पाखरेलले दाता परिवारका सदस्यको अनुपस्थितिमा स्टेज निर्माणको संयोजक समाजसेवी थापा मार्फत दाता परिवारलाई सम्मान समेत गरेका थिए ।
प्रमुख अतिथि पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै कनकाई नगरले पनि विद्यालयको भौतिक निर्माणमा ६५ हजार रुपैंया आर्थिक सहयोग गरेको जनाइएको छ ।