झापा ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेलले एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बिहीबार(आज) संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।
एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।