सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदलाई मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित गराएकोेमा दुःख व्यक्त गरेका छन् । उनले सांसदहरुमा कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो बनाउनु पर्ने मुख्य जिम्मेवारी रहेको बताउँदै सबैले विकास निर्माणको काममा सांसदहरूलाई बाध्यकारी बनाउने गरेको बताएका हुन् ।
नगर प्रमुख पोखरेलले सांसदहरूलाई एउटा काम गर्न पठाइएको भएपनि अर्को काम गर्न लगाउँदा आवश्यक कानुनहरू बन्न नसक्दा स्थानीय तहमा कार्यसम्पादन गर्न कठिनाइ भइरहेको बताएका छन् ।
कनकाई नगरपालिकामा आयोजित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई बधाई तथा सम्मान कार्यक्रमका अवसरमा नगर प्रमुख पोखरेलले त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।
नगर प्रमुख पोखरेलले कानुन बाझिँदा कतिपय सुकुम्बासीहरूले धनीपूर्जा पाउनबाट बञ्चित हुनु परेको बताएका छन् । ‘५० औं वर्ष देखि जोतभोग गर्दै आएका सुकुम्बासी धनीपुर्जा पाएका छैनन्’ नगर प्रमुख पोखरेलले भने ‘नेपालको संविधानले दिएको अधिकार अनुसार विशेष गरी भूमी ऐन ८ औं संशोधनले सुकुम्बासीहरूलाई सम्बोधन गरेको छ ।’ तर, कानुन बाझिएका कारणले सुकुम्बासीहरूले धनीपुर्जा पाउन नसकेको गुनासो गरे ।
कनकाई नगरपालिकामा सम्पन्न कार्यक्रममा उप–प्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं, एमाले नगर अध्यक्ष खड्ग प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार पोख्रेल, वलराम राई, युवराज चौलागाईं, रोशन सुवेदी, दीर्घबहादुर थापा, कृष्णबहादुर राई, भिस्मभुषण सिटौला, लिलाबहादुर कट्टुवाल र राजेन्द्रप्रसाद उप्रेती, नगर कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर गौतम, शिक्षा शाखाका प्राविधिक रोहित पौडेल, कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती, प्रशासकीय अधिकृत विवेक भण्डारी, कर्मचारी विजय पाठक, नगर तथा जिल्ला बालक्लबका पदाधिकारीलगायत सहभागीता रहेकोे रहेको थियो । कार्यक्रमको सन्चालन वडा न ३ का वडाध्यक्ष युवरज चौलागाईंले गरेका थिए ।