बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नं. २ प्रदेश (१) ले संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान शुरु गरेको छ । पार्टीले केन्द्रको सर्कुलर अनुसार संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान आइतवारबाट शुरु गरेको हो ।
झापा क्षेत्र नं. २ प्रदेश (१) पार्टीले आज शहिद सप्ताहको अन्तिम दिन बिबिध कार्यक्रम गरी संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान शुरु गरेको पार्टीका बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।
पार्टीले शहिद सप्ताहको अन्तिम दिन आज गरामनीमा रहेका आठ जना शहिदहरुको शालिकमा फुलगुच्छाले माल्यपण गर्दै श्रदाञ्जली अर्पण गरेको छ । शहिदहरु नेत्र घिमिरे, कृष्ण कुईकेल, नारायण श्रेष्ठ, हेमबहादुर खड्का, हरिकृष्ण चौधरी, चन्द्र डाँगी, बृजीलाल राजवंशी र भेट्ला राजवंशीको शालिकमा पार्टीकी केन्द्रिय सदस्य धर्मशीला चापागाई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बालगायतले माल्यपण गर्दै श्रदाञ्जली अर्पण गरेका छन् । नगर अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
श्रदाञ्जली कार्यक्रमपछि गरामनीको सभाहलमा भएको कार्यक्रममा शहिद परिवारका धनमाया कुईकेल, भैरव खड्का, रमेश डाँगी, खिनमुनी राजवंशीलाई सम्मान गरिएको थियो । पार्टीका झापा क्षेत्र नं. २ प्रदेश १ का संयोजक प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत पार्टीकी बिर्तामोड नगर उपाध्यक्ष छाँया सिग्देलले गरेको कार्यक्रममा पार्टीका प्रदेश सदस्य शिखर कडरिया, निरु खतिवडा, अस्मिता तामाङ, सञ्चार नेम्वाङ, नगर अध्यक्ष मोहन सुब्बा, शहिद परिवारका तर्फबाट रमेश डाँगीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पार्टीका नगर उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, पार्टी नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव गणेश कालिकोटेले गरेका थिए ।