भद्रपुर ।
नेकपा एमाले झापा जिल्ला कमिटी उप–सचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । ३० बर्षदेखि नेकपा एमालेमा संगठित भएर नेपालको वामपन्थी आन्दोलनमा कृयाशिल तथा विभिन्न जनसंगठन, पेशागत संगठन र पार्टी कमिटीहरुमा आवद्ध भएकी उनले शुक्रवार (आज) भद्रपुरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
नेकपा एमालेमा रहँदा उनले राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनजिविकामा सुधार तथा न्याय र समनतामा आधारित सामाजिक रुपान्तरणको यात्रामा रहेको बताउँदै पार्टी परित्याग सँगै हाल स्वतन्त्र रहने बताएकी छिन् । उनले पत्रकार सम्मेलनमा नेकपा एमालेसँग भएका बिभिन्न १८ बुँदे असमति समेत सार्वजनिक गरेकी छिन् ।

पार्टीमा रहेर टेक्ने ठाँउ र सुधारका प्रयत्न गर्ने आधारहरु समेत समाप्त पार्ने प्रयास भएकाले आफ्नो ३० वर्षभन्दा लामो समय काम गरेको पार्टी नेकपा एमालेबाट अलग रहने निर्णय गरेको पत्रकार सम्मेलनमा बताएकी छिन् । आगामी राजनितिक यात्रामा लामो समयसम्म सहकार्य गरेका साथीहरुसंग साझा दृष्टिकोण, समाज परिवर्तनको कार्यदिशा र कार्यक्रम बनाएर एकतावद्ध बामआन्दोलन अगाडि बढाउने दिशामा प्रयास जारी रहने बिज्ञप्तीमा उल्लेख गदैं बामआन्दोलनलाई अगाडि बढाउने क्रममा फेरि भेट्ने प्रतिवद्धता समेत गरेकी छिन् ।
श्रेष्ठसँगै पार्टीप्रति असमझदारी जनाउँदै प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्र सदस्य सज्जाद आलम, बाह्दशी पालिका सदस्य हवालोदिन मियाँ र सचिवालय सदस्य रहिम मियाँले समेत नेकपा एमाले परित्याग गरेका छन् ।


















