झापा ।

नेपालको तेस्रो राष्ट्रपतिका लागि आगामी फागुन २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको छ। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका थिए । 

पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । 

राष्ट्रपतिका दुवै उम्मेदवारको नेपालको संसदीय अभ्यासमा विसं २०४८ देखि प्रवेश भएको हो । पौडेल कांग्रेसका हाल वरिष्ठ नेता हुन् भने नेम्वाङ एमालेका उपाध्यक्ष हुन् । मुलुककै सर्वोच्च पदका लागि दुवै एकैसाथ प्रतिस्पर्धामा उत्रिएका छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आठदलीय गठबन्धन र वर्तमान सत्ता साझेदार एमालेका तर्फबाट मात्र उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा संसद र प्रदेशसभाका सदस्य मतदाता हुनेछन्  ।

राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसदका ३ सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५ सय ५० गरी जम्मा  ८ सय ८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । नयाँ संविधान जारी हुनुअघि र पछि डा.रामवरण यादव र विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् ।