बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले झापाली माटोका दुई गौरब सभामुख देवराज घिमिरे र उप–सभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ । नगरपालिका कार्यालयमा बिहीवार (आज) आयोजित समारोहका बीच सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिएको हो ।

नगरपालिकाका तर्फबाट मेयर पवित्रा महतारा, डेपुटी मेयर नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सभामुख घिमिरे र उप–सभामुख मगरलाई दोसल्ला ओढाएर प्रंशसापत्रसहित सम्मान गरेका हुन् ।

सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ का हुन् । अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको समेत सहभागितामा सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिएको हो । सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्षतर्फ र उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका थिए ।

डेपुटी मेयर सङग्रौलाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गर्न पाउँदा खुसी लागेको बताए । उनले यस क्षेत्रका जनताको विकास प्रतिको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताको उपस्थिति छ ।