बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले बिमा सम्बन्धि औषधी खरिद तथा बितरण प्रक्रियामा लिएको कदम आपत्तिजनक भएको भन्दै नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगरले आपत्ति जनाएको छ । 

नेपालको संविधान २०७२ को स्वास्थ सम्बन्धि मौलिक अधिकार समेत हनन हुने गरी स्वार्थ केन्द्रित गलत हर्कतले नगरबासी लाखौं नागरिकहरुको जनजिबनमा प्रत्यक्ष असर परेको भन्दै नगर पार्टीले बिर्तामोड नगरलाई बुधवार (आज) ध्यानाकर्षण पत्र बुझाएको हो । 

पार्टीका नगर अध्यक्ष मोहन सुब्वाको नेतृत्वमा  बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईलाई ध्यानाकर्षण पत्र बुझाएको नगर सचिव गणेश कालिकोटेले जानकारी दिए । 

पार्टीले नगरमा बुझाएको ध्यानाकर्ष पत्रमा भनिएको छ ‘यस्ता गैर जिम्मेवार कानुन विपरित भएका भ्रष्टाचार जन्य जनताको स्वास्थसँग गरेको खेलबाड जघन्य अपराधप्रति नेकपा (माओवादी केन्द्र ) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

औषधी खरिद गर्दा बिश्व स्वास्थ संगठनबाट प्रमाणित भएको जीएमपी गाइडलाइन अनुसार खरिद नगरि त्यसको बिपरित बिर्तामोड नगरपालिकाले आफ्नो अनुकुलता र स्वार्थ मिल्ने तौर तरिकाले कम्पनीसँग सम्झौता गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

 बिर्तामोड नगरपालिकाले स्वास्थ बिमा बोर्डसँग गरेको सम्झौतामा ११३१ प्रकारका औषधीहरु भए पनि हाल केबल ३०० प्रकारका औषधी मात्र बितरणमा सिमित रहेको ध्यानकर्षपत्रमा छ ।  

पार्टीले नगर अस्पतालको आफ्नै आधिकारिक फार्मेसीबाट औषधी बिलिङ्ग गर्न गराउन र औषधी ठेक्का अर्कै कम्पनीलाई दिने उदेश्यले बोलपत्र आह्वान भएकोले जनताको जिउ ज्यानलाइ प्रत्यक्ष असर परेको भन्दै उक्र गतिबिधि तुरुन्त सच्याउन र बोलपत्र खारेज गर्न जोडदार माग गरेको छ । नसच्याए आन्दोलनको अग्र पंङ्तीमा रहने ध्यानाकर्षण पत्र नगरलाई प्रदान गरेको छ । ध्यानाकर्षण बुझाउने कार्यक्रममा नगर पार्टीका उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, छाँया सिग्देल, बाइसिएल नगर अध्यक्ष सुदिप खवासलगायतको उपस्थिति रहेको थियो ।