बिर्तामोड । 

शिक्षण अभ्यास र साहित्य साधनामा दुई दशक भन्दाबढी समय खर्चिएका स्रष्टा मिलनकुमार ढुंगानाले गजलसंग्रह ‘एक थान जिन्दगी’ प्रकाशन गरेका छन् । अविच्छिन्न लेखकीय कर्ममा सक्रिय रहँदै आएका ढुंगानाले यसैसाता आफ्ना गजललाई पुस्तकको आकार दिएका हुन् । १११ वटा गजल समेटिएको पुस्तक विमोचनको तयारीमा छ । माघ ७ गते झापाको धुलावारीमा सांसक प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा गजल संग्रह विमोचन हुनेछ ।

गजल संग्रहमा ४७ प्रकारका प्रचलित बहर छन् । कम प्रचलित कठिन बहरहरूलाई पनि पुस्तकमा समेटिएको लेखक ढुंगानाले बताए । गजल संग्रहमा विभिन्न मात्राका मीर बहरको प्रयोग पनि गरिएकोे छ । कितावको आवरणमा झापाली सर्जक पवन राजवंशीको कला प्रयोग भएको छ । किताव १३४ पृष्ठको छ, जसमा स्रष्टा सर्जकहरुले ढुंगानाको लेखकीय क्षमता र त्यसले सिर्जना गर्ने तरंगसहित शुभकामना व्यक्त गरेका छन् ।

प्राध्यापक डाक्टर घनश्याम न्यौपानेले कितावमा मुख्य भूमिका लेखेका छन् । साहित्यकारहरु कृष्ण धरावासी, चुडामणि रेग्मी, गजल लेखन तथा गायन क्षमताका धनी चर्चित व्यक्तित्व बुँद राना र आवाज शर्माको शुभकामना कितावमा छापिएको छ । नेपाली साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्ने गरी गजलको गर्भबाट आएको ढुंगानाको कितावले लेखन अभ्यासमा रहेको युवा पुस्तालाई थप प्रेरणा र हौसला दिनेछ । निरन्तरको मेहनत र सिर्जनाको प्रतिफलस्वरुप पुस्तक तयार भएको लेखक ढुंगानाले बताए ।