बिर्तामोड । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको मातहतको स्वयम सेवक संगठन लिम्बुवान भोलेन्टियर्सले आफ्ना बिभिन्न माग सार्वजनिक गरेको छ । 

भोलेन्टियर्सले बिर्तामोडमा सोमवार (आज) पत्रकार भेटघाटको आयोजना गर्दै गत पौष २२ र २३ गते सुनसरीको धरानमा भएको भेलाको निर्णय सार्वजनिक गरेको हो । भोलेन्टियर्सले १६ बुँदे निर्णय तथा माग सार्वजनिक गरेको छ । 

पहिचानको आधारमा लिम्बुवान सहितको १० प्लस १ प्रान्तहरु स्थापना गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनीतिक मुख्य एजेण्डा भएकोले अव निर्माण हुने प्रदेश सरकारले पहिचानको आधारमा लिम्बुवान किरात खम्बुवान उल्लेख गर्नु पर्ने माग अघि सारेको छ । प्रदेशको नामकरण पहिचान बिहीन गरिए निरन्तर सडक आन्दोलन गर्ने पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

limbu

रैथाने, याक्थुङ्वा लिम्बुहरुको आस्थाको धरोहरलाई बचाउन भोलेन्टियरले केवलकारको योजनालाई स्थगित गर्नुपर्ने, थाक्थुङ्वा लिम्बुलगायत अन्य रैथाने आदिबासीहरुको भाषालाई लोकसेवासँग आवद्ध गर्न माग, शिक्षक, अभिभावक, बिद्यार्थी र ब्यवस्थापकहरुबिच समन्वय वा सहकार्य गरी गुणस्तरीय शिक्षका लागि पहलकदमी गर्ने, प्रकृति वातावरण सन्तुलन कायम गर्न भू–क्षय रोकथाम गर्न प्रत्येक बर्ष ५० हजार रुख बिरुवा रोप्ने लगायतका १६ बुँदे माग तथा सुझाव भोलेन्टियर्सले दिएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापाका अध्यक्ष नगेन राई, पार्टीका केन्द्रिय उपाध्यक्ष तथा भोलेन्टियर्सका केन्द्रिय कमाण्डर थाङसाङ लावती, पार्टीका प्रान्तिय सदस्य तथा केन्द्रिय सिनियर उप–कमाण्डर बसन्तराज सुब्बा, प्रान्तिय सचिवालय सदस्य तथा न्याय बिभाग प्रमुख सुमन सम्बाम्फे, केन्द्रिय सिनियर उप कमाण्डर मण्डेम लिम्बु, पार्टीकी महिला झापा अध्यक्ष अम्रिता थाम्सुहाङ, प्रान्तिय सचिव तथा एलभीका प्रवत्ता काजीमान ओरख्बुलगायतको उपस्थिति रहेको थियो ।