बुट्टाबारी ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद बनेकी इन्दिरा राना मगरले सामाजिक न्यायका लागि राजनीतिकमा आएको बताएकी छिन् । उनले सामाजिक कार्य पनि राजनीतिकसँगै जोडिएको बताउँदै त्यसलाई ब्यवस्थित गर्न पनि राजनीतिकमा प्रवेश गरेको बताएकी हुन् ।
बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य मगरले शनिवार (आज) बुट्टाबारीमा पत्रकार भेटघाटको आयोजना गरी आफुलाई भोट दिएर सांसद बनाउने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् । मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।
असाहय बालबालिका, असाहय बृद्धबृद्धालाई गाँस, बास र कपासको ब्यवस्था राज्यले गर्नुपर्ने र त्यसका लागि आफुले पहल गर्ने मगरले बताएकी छिन् । सामाजिक जीवनसँगै राजनीतिमा प्रवेश गरेकी मगरले राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी र केही गर्न सक्ने योग्य युवाहरु भएकाले पनि आफु सो पार्टीबाट सांसद बनेको बताइन् ।
असाहय बालबालिकाको शिक्षा, स्वास्थ्य र बासको राज्यले ग्यारेन्टी गर्न तथा बालबालिकाको हकअधिकारको एजेन्डा सांसदमा लिएर जाने उनले जानकारी दिइन् । बालबालिकाको शिक्षा, स्वास्थ्यलाई एनजीओले गरेर नहुने त्यसका लागि राज्यबाटै वाताबरण सिर्जना हुने पर्ने उनको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।