झापा ।
संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसको मतदान शुरु भएको छ । दलको नेताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदानको व्यवस्था गरिएको छ ।
बिहान ८ः ४५ बजेदेखि शुरु भएको मतदान १० बजेसम्म चल्नेछ । संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान शुरु भएको हो । संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र पार्टीका महामन्त्री थापाले उम्मेदवारी दिएका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । सांसद्हरु मतदानका लागि सिंहदरबार पुग्ने क्रम जारी छ । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । मतदान समाप्त भएपछि आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाइएको छ ।