बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त आयोजनामा झापा निर्वाचन क्षेत्र नं. २ (१) को बिर्तामोडका चारवटा वडामा मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रमसहित निर्वाचनको समिक्षा गरिएको छ ।
बिहीवार (आज) बिर्तामोडको वडा नम्बर ६, ७, ८ र ९ मा गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षासहित मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्र बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।
बिर्तामोड वडा नम्बर ६ र ७ मा भएको संयुक्त कार्यक्रममा माओवादी केन्द्र बिर्तामोड– ६ का अध्यक्ष समना लिम्बुको अध्यक्षता भएको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ७ का अध्यक्ष बुद्धिमान लिम्बुले गरेका थिए ।
त्यस्तै वडा नं. ८ मा भएको कार्यक्रममा माओवादी केन्द्रका वडा अध्यक्ष भरत चौहानको अध्यक्षता तथा सचिव सन्तोष खरेलले कार्यक्रमको सञ्चालन गरेका थिए । त्यसैगरी वडा नं. ९ मा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र वडा नम्बर ९ का अध्यक्ष रमेश डाँगीको अध्यक्षता, स्वागत रुद्र सुवेदी र सञ्चालन सचिव तुलसीराम काफ्लेले गरेका थिए ।
तीन ठाउँमा भएको कार्यक्रममा गत मंसिर ४ गते भएको निर्वाचनको प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा, नेकपा एस झापा अध्यक्ष वेदराज रेग्मी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), झापा संयोजक राजु आचार्य (अग्नि), अनेम संघ केन्द्रिय सदस्य निरु खतिवडा, माओवादी नगर नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरियाल, सचिव गणेश कालिकोटे, अखिल नेपाल किसान संघ नगर अध्यक्ष नन्दु उप्रेती, माओवादी केन्द्र अर्जुनधारा ६ का अध्यक्ष राम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी र पार्टीका जनबर्गिय संगठनलाई सक्रिय तथा चलायमान बनाउनु पर्नेमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले जोड दिएका छन् ।