विर्तामोड। 

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले देशले नेतृत्व परिवर्तन खोजेको बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शिवाकोटीले शुक्रबार(आज) नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पार्टीको गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समिक्षात्मक कार्यक्रमलाई त्यस्तो धारणा राखेका हुन् । 

संविधानमा रहेको समानुपातिक ब्यवस्थाका कारण कुनैपनि दलको बहुमत नआउने स्थिति रहेको बताउँदै संविधानसभा सदस्य समेत रहेका शिवाकोटीले गठबन्धन विना कुनैपनि दलका लागि सरकार सञ्चालन असम्भव रहेको बताएका छन् । 

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मतदाताको आकर्षण लोकतान्त्रिक पार्टीप्रति देखिएको बताउँदै आगामी निर्वाचनलाई लक्षित गरेर कार्ययोजना तय गरी संगठन विस्तार र परिचालनमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा झापा क्षेत्र नं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनाली, निर्वाचन परिचालन समितिका सदस्यहरु दिपक तामाङ, सिता पौडेल, रुद्र चापागाई, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडाल, झापा क्षेत्र नं–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्य, विर्तामोड नगर सभापति भोजराज सिटौला, अर्जुनधारा नगर सभापति हेमराज खरेल, बुद्धशान्ति गाउँ उपसभापति मनेष दाहाल, अर्जुनधारा नगर सचिव इन्दिबरसिंह खड्का लगायत सबै वडाका वडा सभापति एवं पार्टी प्रतिनिधिहरुले आ–आफ्नो भनाईसहित वडाको अवस्थाबारे बताएका थिए । 

झापा क्षेत्र नं–२ मा २५ वटा वडा रहेका छन् । बैठकले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तरगत प्रत्यक्षतर्फ गठबन्धनको पक्षमा एवं समानुपातितर्फ पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, शिक्षक, कर्मचारी, प्रहरी÷प्रशासन, सञ्चारकर्मी, मानवअधिकारवादी, सबै राजनीतिक दल एवं सम्पूर्ण मतदाताहरुमा धन्यवादसहित आभार ब्यक्त गरेको छ ।