हल्दीवारी ।

झापा क्षेत्र नम्बर ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधवार (आज) एकैदिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेका तीनवटा पक्की पुलको शिलान्यास गरेका हुन् । 

४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रालिले २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

जस अन्तरर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका क्षेत्र भित्रका अन्तिम तीन वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिएका छन् । कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (२) का नव निर्वाचित संसद छवि चुडालको समेत उपस्थिति रहेको थियो ।