मेचीनगर। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका छन् । विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका हुन् । 

‘अग्नीले जिते विकास र राष्ट्रवादीको हित हुने बताउँदै गठबन्धनलाई परास्त गर्न आम नागरिक जाग्नु पर्ने बेला भएको बताएका छन् । ओलीलेअग्नी खरेललाई संसदमा नीति निर्माण गर्न र विकासका लागि यहाँ उम्मेदवार बनाएर पठाएको बताउँदै हात्ती नियन्त्रण, तटबन्धनदेखि वडासम्मको काम एमालेले गर्ने बताएका छन् । 

‘झापा १ मा  चुनाव लड्न आफु पनि आउन सक्ने ओलीको भनाई थियो भने राजनीतिकमा स्थायी र अस्थायी भन्ने नहुने उनले बताए । अध्यक्ष ओलीले कानुन मन्त्री, महान्यायाधिवक्ता समेत भइसकेका खरेल सरकार चलाउन सक्ने व्यक्ति भएको बताए । स्वार्थका लागि टालटुल गरेर बनेका गठबन्धनका दलहरुले एमालेसँग एक्लै लड्ने हिम्मत गर्न नसकेको ओलीको भनाई छ ।

कार्यक्रममा झापा–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेल, प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला, राप्रपाबाट प्रदेश सभा सदस्य ‘ख’ की उम्मेदवार सबिना बजगाई, निर्वाचन परिचालन कमिटीका संयोजक विष्ण प्रसाई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न जातिय झाँकीहरु प्रदर्शन गरिएको थियो भने कलाकार राजा राजेन्द्रले चोटिला हास्यव्यङगहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन टिकाराम मंग्रातीले गरेका थिए ।