सुरुङ्गा । 

झापा क्षेत्र नं. ४ का लोकतानित्रक बाम गठबन्धनका साझा उम्मेद्वारले निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।उम्मेद्वारहरुले चुनावी घरदैलो, कोषसभा तथा मतदाता भेटघाट झापा क्षेत्र नं. ४ को २८ वटै वडामा सम्पन्न गरेको र मतदाताहरु गठबन्धनप्रति उत्साहीत भएकाले जित सुनिश्चित रहेको दाबी गरेका हुन् ।  झापा ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वा देउमान थेवेले पाँच हजारबढी मतान्तरले बिजयी हुने दाबी गरेका छन् । 

झापा ४ मा प्रदेश (१) बाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट झलकसिंह दर्लामी र प्रदेश (२) नेपाली कांग्रेसका तर्फबाट एकराज उप्रेती उम्मेद्वार रहेका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा बिभिन्न पार्टी परित्याग गरी ८ सय बढी पार्टी प्रवेश गरेको थेवेले जनाएका छन् । युवा संघका शिवसताक्षी नगर इन्चार्जसहित पार्टी प्रवेश र मतदाताहरु गठबन्धनप्रति उत्साहित भएकाले पनि गठबन्धनका सवै उम्मेद्वार बिजयी बन्नेमा दुईमत नरहेको थेबेले जानकारी दिए । 

यसअघिका सांसदले विकास कार्य नगरेकाले स्थानीयहरु गठबन्धनतर्फ आकर्षित भएको गठबन्धनका उम्मेद्वारहरुको भनाई छ ।  गठबन्धनले स्थानीयहरुको माग र आवश्यकतालाई मध्येनजर गर्ने विश्वासका साथ उत्साहित देखिएका बताइएको छ । स्थानीयले बाटो, खानेपानी, नदी नियन्त्रण, सुकुम्वासीले धनिपूर्जाको माग, शिक्षा, स्वास्थ्यलगायतको माग गर्दै आएको र त्यो कार्य गठबन्धनका उम्मेद्वारले मात्र गर्न सक्ने भन्दै आकर्षित बनेकाले जित सुनिश्चित रहेको गठबन्धनका उम्मेद्वारले दावी गरेका छन् । 

२०७४ सालको निर्वाचनमा थेवेका प्रतिस्पर्धी रहेका एमालेका एलपी साँवाले ४३ हजार ५१५ मत ल्याएर बिजयी बनेका थिए भने थेबे २६ हजार ८२२ मत ल्याएर पराजित भएका थिए । तर, यसपटक माहौल फेरिएकाले ५ हजार बढी मत ल्याएर बिजयी बन्ने थेवेको दाबी छ । झापा ४ मा १ लाख २३ हजार १२४ मतदाता संख्या रहेको छ भने मतदान स्थल ५४ र मतदान केन्द्र १४९ रहेको छ ।