झापा ।  

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा मंसिर १ गते राती १२ बजेदेखि रोक लगाएको छ । आयोगले ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको हो ।

आयोगले मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो । 

अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगले जनाएको छ । 

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयोगले जनाएको छ । 

स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न  नपाइने र कसैले प्रचारप्रसार गरे  निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गर्ने आयोगले जनाएको छ ।