मेचीनगर ।
झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अग्नी खरेलले भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्ने बताएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले भारतबाट आएका हात्तीलाई चिडिया खानामा राख्ने बताएका छन् ।
वर्षौँदेखि हात्तीको समस्या भोगिरहेका क्षेत्र नम्बर १ का जनतालाई उम्मेदवार खरेलले भारतबाट आउने जंगली हात्तीलाई नेपाल–भारतको सीमा क्षेत्रमा रोक्ने प्रतिबद्वता जनाएका हुन् । उनले भारतबाट सोझै बाहुनडाँगी क्षेत्रमा हुलका हुल आउने जंगली हात्तीलाई रोक्न मेची खोलामा तटबन्धन गर्नु पर्ने बताए ।
‘मेची खोलामा ठुलो लगानीमा मजवुत तटबन्धन गर्न सके दुई वटा फाइदा हुनेछ’, उनले भने–‘एउटा भारतबाट आउने हात्ती रोक्न सकिन्छ । अर्को वर्षेनि आउने बाडीका कारण कटान हुँदै आएको खेतीबाली जोगाउन मद्दत पुग्नेछ ।’
एमालेका स्थायी कमिटी सदस्य, झापा इन्चार्ज समेत रहेका पूर्व कानुन मन्त्री र महान्यायधिबक्ता खरेलले विभिन्न चुनावी सभामा हात्तीबाट पीडित जनता राति अरु सुत्ने बेलामा उनीहरु जाँगै बस्न बाध्य हुनु परेको बताए । त्यसकारण हात्ती क्षेत्रका जनताको स्थायी समाधानका लागि अब बन्ने एमालेको बहुमतको सरकारले त्यो काम गर्ने खरेलको भनाई छ ।
यता चुनावी घरदैलो कार्यक्रमलाई विभिन्न ठाँउमा सम्बोधनका क्रममा शर्माले हात्ती रोक्ने एउटै विकल्प चिडिया खानामा राख्नु पर्ने बताएका छन् ।