बिर्तामोड । 

निर्वाचन मिति नजिकिएसँग झापा क्षेत्र नं. २ मा उम्मेद्वाहरुले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारसहित राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्वतन्त्रका समर्थकले मतदाता भेटघाट, घरदैलो, चुनावी कोणसभाका कार्यक्रमलाई तिब्रता दिएका हुन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) को संयुक्त लोकतान्त्रिक बाम–गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा हरिकुमार राना, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेलका तर्फबाट एमालेका देबराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुद्रप्रसाद गिरी र स्वतन्त्र उम्मेद्वारका रुपमा स्वागत नेपाललगायतका उम्मेद्वार झापा २ मा चुनावी मैदानमा उत्रिएका छन् । 

गठबन्धनका साझा उम्मेद्वारका रुपमा पूर्व अर्जुनधारा नगरपालिकाका मेयरसमेत रहेका राना नेकपा (माओबादी केन्द्र) को चुनाव चिन्ह गोलाकार भित्रको हरिया हथौडा रहेको छ । झापा क्षेत्र नं. २ माओवादीको भागमा परेकाले राना उक्त चुनावी चिन्हबाट उम्मेद्वार बनेका हुन् ।  

एमाले र राप्रपाको चुनावी तालमेलबाट नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट घिमिरे, रास्वपाबाट घण्टी चुनाव चिन्हबाट गिरी र स्वतन्त्र उम्मेद्वारका तर्फबाट क्रस खुकुरी चुनाव चिन्हबाट नेपाल उम्मेद्वार बनेका छन् । 

उम्मेद्वारहरुले आ–आफ्ना प्रतिवद्धतासहित मतदाता भेटघाट, घरदैलो र कोणसभालाई निरन्तरता दिदै आएका छन् । उनीहरुले झापा २ का मतदाता आफ्नो पक्षमा रहेकाले आफुले जित्ने दाबी गर्दै आएका छन् । तर, उनीहरु चार मध्ये कसको पल्लाभारी हो त्यो मंसिर ४ गतेको निर्वाचनको परिणामले पक्कै देखाउने छ ।