भद्रपुर ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मचाउन खोज्नु देशद्रोह भएको बताएका छन् । झापाको भद्रपुरमा शनिबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै लिङ्नेनले आफूविरुद्ध निर्वाचनको मुखमा जात र धर्मको आधारमा घृणा पैदा गर्न खोजेको आरोप लगाएका हुन् । 

केही दिनअघि आदिवासी जनजाति महासंघ झापाले झापा–३ मा उम्मेदवारसँग अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा लिङ्देनका प्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला मात्र पुगेका थिए । लिङ्देनलाई निमन्त्रणा दिँदा पनि नआएको महासंघले नै हल्ला फिजाएको लिङ्देनको आरोप छ ।

 ’२/३ दिन अघि कांग्रेसको प्रायोजनमा जनजाति महासंघले भेला बोलाइयो’ लिङ्देनले भने ‘त्यहाँ मेरो प्रतिद्वन्द्वी उम्मेदवारलाई बोलाएको रहेछ, तर, राजेन्द्र लिङ्देनलाई पनि बोलाइएको आएन भनेछन् ।’  उनले त्यस बिषयलाई लिएर जातीय हिंसा पैदा गर्न खोजेको बताउँदै उनले भने, ‘मलाई निमन्त्रणा गरिएको थिएन । निमन्त्रणा गरिएको पुष्टि भए म उम्मेदवारी त्यागेर कृष्णप्रसाद सिटौलालाई सहयोग गर्न तयार छु ।’ 

लिङ्देनले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै  आफू पहिचान विरोधी नभएको बताए । तर, पहिचानका कुरा गर्दा राष्ट्रिय पहिचान भुल्न नहुने उनको भनाई थियो । लिङ्देनले आफू जवाफदेहिताबाट नभाग्ने बताए । 

उनले आफू ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएपछि यो ठाउँले कोल्टे फेरेको दाबी गरे । उनले यो निर्वाचन क्षेत्रका जनताले कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्न बिर्तामोड कि बिहार जानु पर्ने अवस्था भएको उनले बताए । 

अहिले कालोपत्रे सडकले यो क्षेत्रका सबै वडालाई छोएको छ बताउँदै मेची, बिरिङ नदी पीडाको रूपमा रहेको र अहिले तटबन्ध भएको लिङ्देनले बताएका छन् । उनले पाँच वर्ष अघिको क्षेत्र र अहिलेको क्षेत्रमा विकासका हिसाबले आकाश जमिनको अन्तर रहेको बताएका छन् । 

rajendra lingen