बिर्तामोड ।
झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले आफ्नो उम्मेदवारी दलका उम्मेवारविरुद्ध नभएको बताएका छन् । उनले आफ्नो उम्मेद्वारी गरिबी, अन्याय, अभाव र अविकासविरुद्ध भएको बिर्तामोडमा शनिवार (आज) पत्रकार भेटघाटका क्रममा बताएका हुन् ।
राजनीतिक दलका उम्मेवारसँग आफ्नो प्रतिस्पर्धा नभएका बताउँदै उम्मेद्वार नेपालले जनताको विकासप्रतिको चाहना पूरा गर्न भएको बताएका छन् । राजनीतिक दलले गरेका विकास कार्य पूरा नगरैकै कारण स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको उनको भनाई छ ।
क्रस खुकुरी चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपालले झापा क्षेत्र नं. २ मा खसेको मतको ६० प्रतिशत मत आफूलाई खस्ने दाबी गरेका छन् । उनले अहिले ८० प्रतिशत जनताको झुकाव स्वतन्त्र रहेको पाएको बताए ।
किसान र कृषि क्षेत्रको विकासलाई आफ्नो मूल चुनावी एजेण्डा बनाएको उनको भनाई थियो । आफ्नो पक्षमा जनलहर बढ्दै गएकाले विभिन्न लाञ्छना लगाउने र भ्रमित पार्ने काम भइरहेको उनले गुनासो गरे ।