बिर्तामोड ।
झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार बनेका कुमार भट्टराईले २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने दावी गरेका छन् । ट्युवेल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भट्टराईले मंसिर ४ को निर्वाचनमा आफ्नो बलियो उपस्थिति रहने सोमवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा दावी गरेका हुन् ।
उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा, आदिवासी, मधेसी, उद्योगी, व्यवसायी, बुद्धिजीवि, संचारकर्मी, कलाकारलगायत सबैले सहयोग गरेका छन् । यसअघि भट्टराई नेपाली कांग्रेसमा सक्रिय रुपमा आवद्ध रहेका थिए । कांग्रेसले सत्तारुढ गठबन्धनभित्रको माओवादीलाई झापा २ दिएपछि असन्तुष्ट हुँदै उनले बागी उम्मेदवारी दिएका हुन् । उनलाई पार्टीले निष्कासनको कार्वाही गरिसकेको छ ।
पत्रकार भेटघाटका क्रममा उम्मेद्वार भट्टराईले १६ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन् । पद र शक्तिको दुरुपयोग नगर्ने, विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने, कुनैपनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने, सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्नेलगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
‘ म जनताका लागि भएको , हिजो पनि जनताको बीचमा थिएँ, आज पनि जनताको सेवामा छु, भोलि पनि जनसेवामा सक्रिय हुनु मेरो कर्तव्य हुनेछ’ उनले प्रतिवद्धतामा भनेका छन् ‘मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमान्दारिता सँधै जाँच होस् ।’ विद्यार्थी कालदेखि उनले राजनीति शुरु गरेका थिए ।