- राजु बराल
चन्द्रगढी ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा झापा क्षेत्र न ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
सोमबार(आज) झापाको भद्रपुर स्थित होटल एभरेष्टमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा नेता सिटौलाले उक्त धारणा राखेका हुन् । संविधानको वास्तविक कार्यान्वयन हुन सक्दा मात्र समृद्धि र सुशासन सम्भव हुने हुँदा त्यसको निमित्त परिवर्तनका पक्षधर राजनीतिक पार्टी बीच गठबन्धन आवश्यक रहेको कुरामा उनले जोड दिएका थिए ।
नेपाल सरकारका पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले २०४८ देखि अहिलेसम्म झापा क्षेत्र नं. ३ बाट निर्वाचन लडदै आएको बताउदै यस पटक नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत समर्थन रहेकोले आफू उत्साहित रहेको धारणा ब्यक्त गरे ।
मुलुकमा भएका राजनीतिक परिवर्तनबाट किसान, मजदुरका कयौ समस्या समाधान हुन नसकेको स्विकार गर्दै नेता सिटौलाले अब किसान, मजदुरको अवस्थामा परिवर्तन ल्याउन राजनीतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् ।