सुरुङ्गा ।
नेकपा एमालेका कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् । चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय रहेका पोखरेलले एमाले पार्टी नभएर ओली कम्पनीमा रुपान्तरण भएको भन्दै पार्टी परित्याग गरेका हुन् ।
उनले शुक्रवार(आज) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी पार्टीमा विचार, नीति, विधि भन्दा गुटको राजनीति हावी भएकाले पार्टी छाडेको बताए ।
‘कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने बन्नका लागि पार्टी त्यागेको हुुँ’, उनले भने, ‘पार्टीले सेतोलाई कालोभन्दा कालै भन्नुपर्ने अवस्था विद्यमान छ ।’ २०३८ सालमा विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय उनले जेलनेल भोगेको बताए । उनले भने, ‘पद नमागी पार्टीको हरेक गतिविधिमा सक्रिय भएर लागेँ ।’
पार्टीमा असल कार्यकर्ताको मूल्यांकन नहुने, आर्थिक अवस्था कमजोर भएका कार्यकताई नगन्ने, नेतृत्व गर्न सक्नेलाई लखेट्ने र नवप्रवेशीलाई मात्र मौका दिने भएकाले पार्टीमा बस्न र काम गर्न नसक्ने अवस्था भएकाले पार्टी त्यागेको पोखरेलको भनाइ छ ।