झापा ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपा र एमालेका साझा उम्मेदवार रहेका भक्तीप्रसाद सिटौलाले राप्रपा र एमालेको चुनावी तालमेलबाट गठबन्धन अतालिएको बताएका छन् ।
राप्रपाका केन्द्रिय प्रवक्ता समेत रहेका सिटौला लामो समय नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीतिमा गरेका ब्यक्ति समेत हुन् । अधिवक्ता सिटौला २०७० सालमा राप्रपा प्रवेश गरेका थिए । नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा आएका सिटौला विपीको आदर्श र सिद्धान्त छोडेर लथालिंग भएकै कारण कांग्रेस त्यागेको बताउँछन् । उनी भ्रस्टाचार विरुद्दको अभियान र धाराप्रवाह भाषण क्षमताकै कारण लोकप्रिय मानिदै आएका छन् ।
झापा क्षेत्र नं. ४ (ख) मा यातातात, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार र बिद्युतीकरणका समस्याहरु मुख्य रहेको उनले बताएका छन् । सडक सञ्जालको बिकास हुन थालेको पूर्णता दिनु पर्ने अपरिहार्य आवश्यकता रहेकै कारण आफुले उम्मेद्वारी दिएको उनको भनाई छ।
उनले शिक्षामा सुधार गर्ने प्राबिधिक शिक्षालयहरुको स्थापना गर्ने, धार्मिक मठ मन्दिरहरुको विकास गरेर पर्यटन उद्योगको बिकास गर्ने, मुख्य चुनौतीको रुपमा रहेको बिरिंग र कनकाई तटबन्धनको कार्यलाई प्राथमिकता साथ उठाउने, सिचाईको व्यवस्थापन, उन्नत जातको बिउ वितरण, कृषि बिज्ञहरुको व्यवस्थापन, समयमा मलविउको वितरण, स्टोरेज हाउस र चिस्यान केन्द्रको स्थापना गर्ने प्रतिबद्धता गरेका छन् । त्यसैगरी पशुपालन, मत्स्य पालन, मौरीपालन, व्यवसायीकरण गर्न र कृषि उपजको बजार व्यवस्थापन गर्ने, दैनिक जनजीवनमा प्रत्यक्ष जोडिएका अत्यावश्यक विषयहरुलाई प्रदेश र केन्द्रतहसम्म पुर्याएर दिर्घकालिन विकासको खाका तयार गर्ने उनको प्रतिवद्धता छ । घर दैलो अभियान शुरु गरेको पहिलो दिनबाटै आफुहरुको विजयको यात्रा सुरु भएको सिटौलाले दावी गरेका छन् ।