झापा । 

झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेदवारले देश बनाउनै नसक्ने ठोकुवा गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता साँवाले चुनावी घरदैलो अभियानका क्रममा कनकाई वडा नं. ७ स्थित दुर्गापुर बजारमा भएको कोणसभालाई सम्बोधन गर्दै देश विकास र दिगो शान्तिका लागि एमालेको सरकार नै जरुरी रहेको बताएका हुन् ।

गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई दिने तलबसम्म सरकारसँग नभएको भनिरहँदा उनीहरुबाट देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने एमाले नेता साँवाले प्रश्न गर्दै भने, एमाले सकारकामा रहुन्जेल देशमा तरलता अभाव नभएको भन्दै गठबन्धनले देश चलाउन थालेपछि बजारमा हरेक चिजको महँगी बढेर जनताको ढाड सेकिरहेको टिप्पणी गरेका छन् ।

गठबन्धनको सरकारले नेतृत्व गरेको १६ महिना नबित्दै देशको अर्थव्यवस्थामा गिरावट आएपछि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना गराउने प्रधानमन्त्रीसँग जोडिएका उम्मेदवारले कसरी देश बनाउँछन् भन्ने सवालमा मसिनो गरी अध्ययन गर्न एमाले नेता साँवाले मतदातालाई आग्रह गरेका छन् ।

समृद्धिको यात्रामा कुनै मतलब नराख्ने गठबन्धनको सरकारले १८ महिना अघि ९६ रुपैयाँ भएको पेट्रोलको मूल्य हाल १८२ बनाएर जनतालाई धोका दिएको बताए । गठबन्धनले समृद्धिको यात्रामा कुनै मतलब नराखी मुलुकलाई खोक्रो बनाएको बताउँदै साँवाले महँगीको मारबाट मुक्त हुनका लागि जनताले एमालेलाई नै भोट दिनुपर्ने पनि सुझाव दिए । नेकपा एमालेले समृद्धि चाहेको बताउँदै उनले एमालेमात्रै देश विकास गर्ने इच्छाशक्ति बोकेको पार्टी भएको बताए ।

वडास्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक लिलाबहादुर कन्दङ्वाको अध्यक्षतामा भएको कोणसभामा राप्रपाका केन्द्रीय प्रवक्ता एवम् क्षेत्र नं।४ ९२०का प्रदेश सभा सदस्यका उम्मेद्वार भक्तिप्रसाद सिटौलाले सम्बोधन गरेका थिए । राप्रपा नेता सिटौलाले नेपाली जनताको शिर उठाउने कार्यको नेतृत्वमा रहेका केपी ओलीको राष्ट्रवादी सोचमाथि प्रहार भएको भन्दै नेपालीको स्वाभिमानलाई जोगाउन देशले केपी ओलीको नेतृत्व चाहेको बताए ।

एमसीसी राष्ट्रघाती निर्णय भएको भन्दै राप्रपा नेता सिटौलाले गठबन्धनको सरकारले नेपाली जनतामाथि खेलबाड गरेको बताउँदै अबको मंसिर ४ गते हुने निर्वाचनमा जनताले यसको बदला लिने दावी गरे । आफू निर्वाचित भएपछि जनताको मन कहिल्यै अमिलो बनाउन नदिने भन्दै राप्रपा नेता सिटौलाले प्रदेशमार्फत केन्द्रीय सरकारसँग जोडेर आफू निर्वाचित भएको क्षेत्रमा विकासको मूल फुटाउने प्रतिवद्धता जनाए ।