झापा ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका उम्मेद्वारले जुलुस, आमसभा र कोणसभा गर्ने भएका छन् । निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि मंसिर २ गतेसम्म राजनीतिक दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् ।
आयोगले चुनावी प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह छ। हिजो आयोगले पत्रकार सम्मेलन आयोजना गरी आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने जनाएको छ । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने जनाइएको छ ।
मंसिर ४ गते हुने चुनावका उम्मेदवारले मंसिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने र त्यसको लेखा परीक्षणसमेत गर्ने आयोगले जानकारी दिएको छ । यसै क्रममा झापाका ५ वटैं निर्वाचन क्षेत्रमा पनि राजनीतिक दल र उम्मेद्वारले आजदेखि चुनावी प्रचारप्रसारलाई तिब्र बनाउने भएका छन् । झापामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एसको संयुक्त लोकतान्त्रिक बाम–गठबन्धनका उम्मेद्वार, नेकपा एमाले र राप्रपाको चुनावी तालमेलमा उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले पनि चुनावी प्रचारप्रसारलाई तिब्र बनाउने देखिएको छ ।