झापा  । 

झापाका प्रत्येक क्षेत्रमा अहिले उम्मेद्वारहरु मतदाताका घर–घरमा पुगेर भोट माग्ने क्रम जारी छ । मतदाताको गुनासो सुन्ने र मतदातालाई आफ्नो पक्षमा पार्न आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वार लागिपरेका छन् । 

यसै क्रममा झापा इोत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार बनेका अग्नी खरेल र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईलाई वर्ने चिया बगानका मजदुरहरुले ज्याला बढाई दिन माग गरेका छन् ।

बुद्वशान्ति–४ मा एमाले र राप्रपाको संयुक्त चुनावी घरदैलो कार्यक्रममा सहभागी चिया बगानका मजदुरहरुले उम्मेद्वार खरेल र राप्रपाका तर्फबाट प्रदेश ‘ख’ की उम्म्द्वार बजगाईहरुलाई सो कुरा माग गरेका हुन् ।

 चिया बगानका मजदुर कुमार लिम्बुले सरकारले २÷२ वर्षमा ज्याला बढाए पनि अहिलेसम्म ज्याला नबढेकोमा गुनासो गरे । कानुन मन्त्री समेत भइसकेका नेता खरेलले एमालेकै सरकारमा मजदुरको ज्याला निर्धारण गरिएको बताए । उनले कांग्रेसको सरकारले बढाएन, तर अब एमालेको सरकार आएपछि त्यो लागु हुने ठोकुवा गरे । अहिले हाल सरकारले तोकेको दैनिक ४३५ रुपैयाँ ज्याला मजदुरले पाईरहेका छन् । २÷२ वर्षमा बढ्नु पर्ने ज्याला नबढेकोमा मजदुर चिन्तित भएका छन् ।

बुद्वशान्ति–४ का आम जनताले खानेपानी, सिँचाई, बाटो, सामुदायिक स्कुल, सुकुम्बासी, हात्ती लगायतका समस्या समाधान गरिदिन उम्मेद्वारलाई आग्रह गरेका थिए । चुनावी घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाई, सचिव टिकाराम मंग्राती, एमालेका नेताहरु घनश्याम अधिकारी, बुद्वशान्ति गाँउपालिकाकी पूर्व उपाध्यक्ष मिरा भुर्तेल, कृष्ण कनाल, राप्रपा प्रदेशकी समानुपातिक उम्मेद्वार सुनिता शर्मा, राप्रपा प्रदेश ख को निर्वाचन परिचालन कमिटीका सहसंयोजक विशाल कृष्ण बाँस्तोला, शारदा पराजुली, कल्पना डाँगी, अस्मिता खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बुद्वशान्ति–४ का पूर्व वडाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक बुद्विमान जवेगु, वडा इन्चार्ज राजेन्द्र राईले कार्यक्रमको सहजिकरण गरेका थिए ।