मेचीनगर ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिनगन्ति शुरु भइसकेको छ । निर्वाचन नजिकिँएसँगै यतिखेर सवैतिर निर्वाचनले छप्पकै छोपेको छ ।
झापामा पनि चुनावी सरगर्मी निक्कै बढेको छ । झापामा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधान गृहमन्त्रीदेखि राजनीतिक दलका केन्द्रीय नेतृत्व चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण देशभरको चासो अहिले झापातर्फ तेर्सिएको छ । त्यसमा पनि झापाको निर्वाचन क्षेत्र नम्बर १ ले सवैलाई तानेको छ । जहाँ प्रतिनिधिसभा सदस्य एक पदका लागि राजनीतिक दलका र स्वतन्त्र गरी १५ जना उम्मेदवार मैदानमा छन् ।
१५ जना उम्मेदवारभए पनि सवैको दृष्टि भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तलमेलबाट चुनावी मैदानमा उत्रिएका नेकपा एमाले स्थायी कमिटी सदस्य, पुर्व महान्ययाधिवक्ता, पुर्व कानुन मन्त्री झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तर्फ छ ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रविन कोइरालासँग पराजित भएका नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा २०७४ सालको प्रतिनिधिसभा सदस्यमा समेत झापा क्षेत्र नं १ बाट वामगठन्धनका उम्मेदवार सुरेन्द्रकुमार (राम) कार्कीसँग दोस्रो पटक पराजित भएका थिए । शर्मा निर्वाचनको हारलाई स्वभाविक रुपमा लिनुहुन्छ ।
२०७४ सालमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी हुदाँ शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गर्नुभएको थियो । झापाको १ नम्बर क्षेत्रबाट पटक पटक पराजित बन्नु भएका शर्मा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यमा एमाले निक्कै बौद्घिक नेता अग्निप्रसाद खरेलसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । खरेल नेपाली जनमा निक्कै लोकप्रिय छन् । उनीहरु दुवैजना लोकप्रिय नेताका रुपमा रहेका कारण झापा १ मा निक्कै प्रतिस्पर्धा हुने देखिएको छ ।