हल्दिबारी ।
झापा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका युवा योगेन्द्र खनालले भष्ट्राचार, बलात्कार र राष्ट्रघात विरुद्ध उम्मेद्वारी दिएको बताएका छन् ।
उम्मेद्वार खनालले राष्ट्रघाती सन्धी सम्झौता रद्ध गर्न पहल, झापा क्षेत्र नं. ३ लाई कृषि हबका रुपमा विकास, स्थानीय सरकारमा हुने बेरुजु र भ्रष्टाचार निर्मूल नीति गर्नेसहितको ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
त्यसैगरी उनले राजनीतिक अपराधीकरणको अन्त्य, स्रोत नखुलेको सम्पत्तिको राष्ट्रियकरण, विदेशमा रहने नेपालीलाई मताधिकार दिन, सीमामा तारबार गर्न, ६५ वर्षसम्म मात्र राजनीति गर्न पाइने व्यवस्था गर्न, निशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्न, प्रशासन संयन्त्रमा भएको चरम राजनीतिकरण अन्त्य, अपराधिक क्रियाकलाप विरुद्ध सशक्त कानून निर्माण र स्वतन्त्र कार्यान्वयन गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
२०४१ साल चैत्र २८ गते तत्कालिन गोलधाप ४ मा यामप्रसाद र संगिता खनालका जेठा छोराका रुपमा जन्मिएका खनालले बिर्तामोड–१० स्थित इलामेली टोलमा २०७० सालदेखि माता पाथिभरा गाई, माछा तथा कुखुरा फर्म सञ्चालन गर्दै आएका छन् । कृषि पेशामा आवद्ध खनाल विगत १२ बर्षदेखि बेथिति विरुद्ध संघर्ष गर्दै आएको बताउँछन् ।
एमसीसी विरुद्ध प्रदेश नं. १ मा एकसय ३६ वटा कार्यक्रम गरेको बताउँदै खनालले निर्मला पन्त हत्या काण्ड विरुद्ध न्यायका लागि लगातार ३ महिना आन्दोलनसहित विविध कार्यक्रम गरेको बताउँछन् । खनाल अहिले मतदातासँगको भेटघाटलाई निरन्तरता दिदै आएका छन् ।