शिवसताक्षी ।
बिगत केहि दिनदेखि माओवादी केन्द्रका ४० जनाको राजीनामा भन्दै केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
बैठकमा भएको हस्ताक्षरको दुरुपयोग गरिएको भन्दै २१ जनाले सोमवार (आज) बिज्ञप्ती जारी गर्दै भ्रम पूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘हामी माओवादी केन्द्रमै रहेको जानकारी गराउन चाहन्छौ ।’
केही असमझदारी भएको बिषयमा पार्टी भित्र रहेर कमिटीमा छलफल गरी निकास निकाल्न अवगत गराउँदै हामीहरुको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको साथै कसैलाई भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै पार्टी भित्रै रहेको बिज्ञप्तीमा भनिएको छ । ‘हामी माओवादी केन्द्रमै रहेको जानकारी गराउन चाहन्छौ’ बिज्ञप्तीमा भनिएको छ।’
नगर सह–सचिब भुवन सेन्दाङ, वाईसिएल नेपाल नगर अध्यक्ष इन्द्र नेउपाने, उपाध्यक्ष सञ्जिव राई, नगर सचिवालय सदस्य धनकुमार ढकाल, धनेन राई, फिरोज ढकाल, खगेन्द्र राई, डम्बर लिम्बु, भिमबहादुर थापा, सन्तोष काफ्ले (उमाकान्त) आशिष घिमिरेलगायत २१ जनाले बिज्ञप्ती जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
यता नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामाको बिषय हल्ला मात्रै भएको बताए । ‘साथीहरु चुनाव कार्यक्रममा ब्यस्त भएको बेला गोयबल्स शैलीमा प्रचार गरिनु र माइन्युटको दुरुपयोग गर्नु गलत हो’ अध्यक्ष भट्टराईले भने । पार्टीमा सैद्धान्तिक बिषयमा कसैको असहमत भए छलफलबाट निकास निकाल्न नगर समिति तयार रहेको पनि उनको भनाई छ । उनले पार्टी भित्र गल्ति गर्न कैसलार्इ पनि छुट नभएको पनि बताए । पार्टी परित्याग कसैले पनि नगरेको र भ्रामक समाचार प्रसारण गर्दै सम्बन्धित ब्यक्ति वा कमिटीलाई नसोधी लेखेकोमा उनले आपत्ति समेत जनाएका छन् । समाचार आग्रह पूर्वाग्रह राखेर नलेख्न पनि भट्टराईले आग्रह गरेका छन् ।