सुरुङ्गा । 

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार शम्भूप्रसाद ढकाल (सुस्केरा) ले बाचा–पत्र सार्वजनिक गरेका छन् । 

उम्मेद्वार ढकालले शुक्रवार (आज) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी विवरणसहितको १० बुँदे साथै स्थानीय समस्या र समाधान भएको बाचा–पत्र सार्वजनिक गरेका हुन् ।

उम्मेद्वार ढकालले ‘५ बर्ष, १० काम’ भन्ने नाराका साथ सार्वजनिक गरेको बाचा पत्रमा स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगार र आर्थिक उपार्जन, दीगो पूर्वाधार विकास, जनमैत्री कानुन निर्माण, भष्ट्राचार नियन्त्रण, राज्य सञ्चालनमा पुनरावलोकन, मजबुत आन्तरिक र बाह्य सुरक्षा र विश्व मञ्चमा गौरवपूर्ण उपस्थिति, प्रभावकारी, मितव्ययी, भष्ट्राचारमुक्त र ममतामयी सरकार र प्राथमिकतामा युवा साथै स्थानीय समस्या र सामाधानसमेत बाचा पत्रमा समावेश गरेका छन् । 

उम्मेद्वार ढकालले सार्वजनिक गरिएको बाचापत्रमा स्थानीय समस्या र समाधान अन्तरगत झापा क्षेत्र नं. ४ मा पर्ने सतासी, दुधे, झरना, सुरुङ्गा र भालु खोलाहरुलाई कनकाई, विरिङ र कमल खोलामा मिसाएर थप योजनाहरु निर्माण गर्ने, भारतीय हात्तीलाई नेपाल प्रवेश रोक्ने उपायको खोजी गर्ने, कयौं बर्षदेखि झेलिरहेको सुकुम्बासी समस्या ५ बर्षभित्र समाधान गरिने, किसानले भोगिरहेको ऐलानी जग्गाको धनिपूर्जा एकमुष्ट वितरण गरिनेलगायतका २२ बुँदे रहेका छन् । 

राजनीतिक शास्त्रमा एमए गरेका उम्मेद्वार ढकालको शहिदकी आमा र सरोगेट कथा सङ्ग्रह प्रकाशित भइसकेको बताएका छन् । त्यस्तै प्रहरी जवानका लागि लोकसेवा आयोगको तयारी पुस्तकसमेत प्रकाशित भएको बताइएको छ । 

उम्मेद्वार ढकालले ५ बर्षपछि मतदाताले इमान्दार र स्वतन्त्र उम्मेद्वार खोज्ने बातावरण सिर्जना गर्ने सोचका साथ आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पार्टी बदल्नु परेन, भोट बदलौं भन्ने मुल नाराका साथ उम्मेद्वारी दिएका ढकालले समस्या समाधान गर्न सहज भएपनि राजनीतिक दलले गर्न नसकेको आरोप लगाए । 

स्वागत झापा क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक खड्गप्रसाद गिरीले गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका शिवसताक्षी नगर संयोजक तुलसी खनालले समापन गरेका थिए । 

suskera