झापा ।
झापाका ५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन र एमाले, राप्रपा, स्वतन्त्रका उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्र बनेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) को संयुक्त गठबन्धन र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेलका उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्रता दिदै आएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारले आ–आफ्ना एजेन्डासहित आ–आफ्नो क्षेत्रमा मतदाता भेटघाट, प्रशिक्षण, कोणसभा तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहका विश्वप्रकाश शर्माले लोकतान्त्रिक बाम–गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका छन् भने नेकपा एमाले र राप्रपाको चुनावी तालमेलबाट अग्नि खरेलले उम्मेद्वारी दिएका छन् ।
झापा क्षेत्र नं. २ मा नेकपा एमाले परित्याग गरी स्वतन्त्र रहेका हरिकुमार रानाले लोकतान्त्रिक बाम–गठबन्धनका तर्फबाट साझा उम्मेद्वारी दिएका छन् । झापा क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेकाले पनि रानाले माओवादीकै चुनाव चिन्हबाट उम्मेद्वारी दिएका हुन् । सो क्षेत्रबाट नेकपा एमालेका तर्फबाट देवराज घिमिरे रानाको प्रतिस्पर्धीका रुपमा उम्मेद्वार बनेका छन् ।
झापा क्षेत्र नं. ३ मा लोकतान्त्रिक बाम–बाम गठबन्धनका तर्फबाट कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देनबिच प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा एमाले र राप्रपाको तालमेल भएपनि एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वारी दिएका डम्बरबहादुर गिरीका कारण पनि लिङ्देनलाई सहज भने देखिएको छैन ।
त्यसैगरी झापा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम–गठबन्धनका तर्फबाट देउमान थेवे र एमालेका तर्फबाट एलपी साँवाले उम्मेद्वारी दिएका छन् । झापा क्षेत्र नं. ५ मा लोकतान्त्रिक बाम–गठबन्धनका तर्फबाट डा. खगेन्द्रपाण्डव अधिकारीसँग नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको प्रतिस्पर्धाका लागि उम्मेद्वारी दिएका छन् । त्यस्त झापाका सवै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारहरुले पनि आ–आफ्नो एजेण्डासहित चुनावी प्रचारप्रसारलाई तिब्र रुप दिएका छन् ।
चुनावी प्रचारप्रसारमा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारसहित प्रदेशसभा सदस्यले पनि आ–आफ्नो क्षेत्रमा मतदाता भेटघाटलाई निरन्तरता दिदै आएका छन् ।