• राजु बराल 

चन्द्रगढी ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्म जयन्तीको अवसर पारेर झापाको भद्रपुर –९  चन्द्रगढीको देवकोटा चोकमा महाकविको शालिक अनावरण गरिएको छ ।

झापाको चन्द्रगढी ( चाराली सडक खण्ड बीचमा रहेको महाकविको शालिक गत वर्ष अज्ञात समुहले तोडफोड गरेपछि पुनः निर्माण भएको शालिक नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले सोमबार  अनावरण गरेका हुन् । भद्रपुर नगरपालिका, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र स्थानीयबासीको सम्युक्त लगानीमा  २४ लाख ७३ हजार ७४६ रुपैयाँ लागतमा आकर्षक पार्क सहित शालिक निर्माण गरिएको निर्माण समितिका संयोजक दुर्गाप्रसाद भट्टराइले जानकारी दिए। 

सो कार्यक्रममा   देवकोटा स्मारक संरक्षण समितिले साहित्यकार चुडामणि वशिष्ठलाई नगद२० हजार रुपैयाँ राशीको स्व. मनोरथ दाहाल स्मृति काव्य पुरस्कार प्रदान गर्नुका साथै  साहित्यकार उषा गुरुङलाई कदरपत्रसहित  सम्मान गरेको छ । उक्त कार्यक्रममा सम्मानित श्रस्टा चुडामणि वशिष्ठको परिचय साहित्यकार तारा विविध र  उषा गुरुङको परिचय साहित्यकार लता खरेलले गराएकी थिइन् । 

वीरेन्द्र माबि चन्द्रगढीबाट यस वर्षको कक्षा १२ मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने बिद्यार्थीहरु प्रमोद पौडेल र बिनिसा पौडेललार्इ नगद पुरस्कार प्रदान गरिएको सो कार्यक्रममा बाल कवि गोष्ठीमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने कविहरु क्रमश झरना खनाल, निकास तिम्सिना, अनुस्का भट्टराई र श्रद्धा रेग्मीलाई पुरस्कृत गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, प्रदेश १ का भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, साहित्यकार सुभद्रा भट्टराई  अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार पुन्य खरेलले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानको बारेमा चर्चा गरेको उक्त कार्यक्रममा  स्थानीय ५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई र दोस्रो सत्रको अध्यक्षता देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेलले गरेका थिए । कार्यक्रममा स्वागत गोकुल ढकाल र सञ्चालन राजु बराल र लता खरेलले गरेका थिए ।