भद्रपुर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीति व्यक्तिगत लाभका लागि नभएर प्रशासनिक क्षेत्रको सुधार र राजनीतिक दलभित्रको बिकृति नियन्त्रण, समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक बामगठबन्धनको झापा क्षेत्र नं. १ अन्तरगत मेचीनगर १५को ज्यामिरगढीमा वडास्तरिय निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै  महामन्त्री शर्माले संघीय गणतन्त्र सुदृढ बनाउन पहिले सिंहदरवार सुधारेर नेतृत्वमा पुग्ने अनि दलका नेताहरूको आचरण सुधार गर्ने अभियानमा आफू लागि पर्ने बताएका हुन् ।

आम नागरिकको जनजीविकालाई असहज परिस्थितिबाट सहज बनाउन स–साना कामहरुमा सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिंदै भने–‘किसानलाई मल अभाव छ, रेल पानी जहाजले त्यो अभावलाई सम्बोधन गर्न सक्दैन, रेल र पानीजहाज पनि आवश्यक छ, तर पहिले किसानले मल, बिऊबिजन पाउने वातावरण बनाउनु पर्छ, अनि रेल र पानी जहाजका कुरा गरौला ।’

आफूहरु आश्वासनको नभइ इमान्दारिताको राजनीति गर्ने बताउँदै ‘नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर हुँदैन, गठबन्धन निर्वाचनका लागि मात्र नभएर राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि रहेको उल्लेख गरे ।

बाहुनडाँगीको तिरिङदेखि क्षेत्र नं. १ को सम्पूर्ण भूगोलमा रहेका हरेक समस्याबारे आफू जानकार रहेको उनले बताए । सांसद र मन्त्री बन्ने अरु सहज बाटा भएपनि जोखिम मोलेरै प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको उल्लेख गर्दै पार्टी र देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरे ।

कार्यक्रममा नेकपा एसका संघीय संसदका समानुपातिक तर्फका उम्मेदवार तारा रूचाल, नेपाली कांग्रेसका प्रदेश सभाका समानुपातिक उम्मेदवार बालजीत राई तथा कालुराम मेचेले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन निसन्देह मतदान गर्न आग्रह समेत गरेका छन् ।