बिर्तामोड । 

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका भद्रप्रसाद नेपाल (स्वागत) ले कुनैपनि दल, नेता र समुह विरुद्ध आफ्नो उम्मेद्वारी नरहेको बताएका छन् । उनले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले राजनीतिकको फोहोर सफा गर्न उम्मेद्वारी दिएको बताए ।  

उनले चुनाव जितेर गएका सांसदले चुनावका बेला गरेका बाचा पुरा नगरेमा जनताले दिएको भोट फिर्ता गरेर पदबाट हटाउने अधिकार हुनु पर्ने बताउँदै राइट टु रिकलको लागि लडिरहेको भएपनि सो सम्बन्धी कानून समेत अझै बन्न नसकेको बताए । 

स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने असम्भव जस्तो लाग्ने सो व्यवस्थालाई सम्भव गराउने आफूसँग योजना तथा कार्यक्रमहरु रहेको उनको भनाई छ । 

नेपालले संसदमा नभएपनि आफुले सांसद सरह प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे । उनले किसानले आफ्नो उत्पादनको मूल्य उत्पादन खर्च जति पनि पाउन नसकेको बताउँदै किसानले घाटामा बेचेको अनाज मजदुरले अति चर्को मूल्यमा किन्नु परेको बताए । यस्ता विषय राजनीति गर्नेले चासो नदिएकोप्रति उनले दुःख ब्यक्त गरे ।

नेपालमा विदेशी आमन्त्रित हस्तक्षेप बढ्दै गएको ब्यवस्था परिवर्तन नभएकाले त्यो परिवर्तन गर्न पनि आफुले उम्मेद्वारी दिएको बताएका छन् ।