झापा । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले हिजो देखेका बिकासका सपना आज बिपनामा परिणत भएको बताएका छन् ।  बिहीबार(आज)आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताहरुसँगको भेटघाटको क्रममा अध्यक्ष ओली हिजो आमसभामा गाउँ जाँदा गाडीमा फरुवा लिएर बाटो बनाउँदै जानु पर्ने अवस्था भएको बताए । 

‘गाउँमा मात्र होइन शहर बजार क्षेत्रमा समेत सडक, पुललगायतका बिकासका पूर्वाधार थिएनन्’ ओलीले भने ‘गाडी फस्ने र उत्रिएर कोदालोले माटो काटेर बाटो बनाउदै हिड्नु पर्ने अवस्था थियो ।’ राती आमसभा या भेटघाट गर्दा बिद्युत बिस्तार नभएको कारण बत्तिको  अभावमा पेट्रोमेक्स बालेर उज्यालो बनाएका कार्यक्रम गर्नु पर्ने अवस्था भएको उनले सुनाए । 

बिगतका चुनावको प्रचारलाई स्मरण गर्दै अध्यक्ष ओलीले भने ‘अहिले देशैभरी बिकासले फड्को मारेको छ ।’ एमालेको नेतृत्वमा भएको सरकारले तीन बर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउसम्म प्रमाणित गरेको उनले बताएका छन् ।  इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको उनको भनाई थियो । 

बिजुली, टेलिफोन, पक्की बाटो, पक्की पुल जनताको सपना रहेको भन्दै उनले ती सबै सपना विपनामा परिणत भएको स्मरण गराए । रतुवा मावामा पुल, गाउँ–गाउँमा बाटा, विद्यालय भवन, क्याम्पस भवन, भ्यूटावर, कृषिको आधुनिकीकरण गर्ने, नयाँ–नयाँ ढंगले विकासका काम अघि बढाइएको उनले बताए ।