लक्ष्मीपुर । 

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन झापा क्षेत्र नं. २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारको जित निश्चित रहेको दाबी गरिएको छ  ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले झापा २ मा गठबन्धनको जित निश्चित रहेको दाबी गरेका हुन् । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित बिहीवारे बजारको सामुदायिक भवनमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै रानाले एजेण्डा सहि भएका कारण गठबन्धनको जित निश्चित भएको बताए ।

अन्य दलको जस्तो झुटको खेती गर्ने परिपाटी नरहेको र गठबन्धनले अघि सारेका सवै एजेण्डा जनप्रिय भएका कारण गठबन्धनका उम्मेद्वारलाई आम मतदाताले मतदान गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पदका उम्मेद्वार खगेन्द्र मैनालीले आम मतदाताको रोजाईमा परेका उम्मेद्वार भएका कारण पनि आफुहरुको जित सुनिश्चित रहेको दाबी गरे । बिकास र सुशासनको पक्षमा सधैं निरन्तर संघर्षरत गठबन्धनका उम्मेद्वारलाई आम मतदाताले मंसिर ४ मा मतदान गर्ने र त्यसको ५ बर्षसम्म आफुहरु निरन्तर जनसाधारणको घरमा विकास र समृद्धिका बाटा लिएर जाने बताए ।

सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एसका जिल्ला सदस्य गणेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई, सहिद पिता केदारशम्शेर गिरी, नेपाली कांग्रेस १ नं. प्रदेश सदस्य रञ्जिता कार्कीलगायतले गठबन्धनले २ नं. क्षेत्रमा जित्नेमा शंका नगर्न आम कार्यकर्तालाई बिश्वास दिलाए ।

कार्यक्रममा मोओवादी केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु),  प्रदेश सदस्य बासु दुलाल, झापा संयोजक राजु आचार्य (अग्नि), कांग्रेस नेताहरु मदन बुढाथोकी, प्रशान्त भण्डारीलगायतको सहभागीता रहेको थियो ।  कार्यक्रमको सञ्चालन कमल गिरीले गरेका थिए ।