विर्तामोड ।
प्रतिगमन विरुद्ध संघर्षरत दलका जिल्ला नेतृत्वले गठबन्धन दलका उम्मेद्वार विरुद्ध गतिविधि नगर्न सम्पूर्ण नेता÷कार्यकर्तालाई सचेत गराएको छ ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेकपा एसका अध्यक्ष बेदराज रेग्मी, नेकपा (माओवादी केन्द्र) का राजु आचार्य अग्नीले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवार भएर चुनावी प्रचारमा लाग्न आग्रह गरेका हुन् ।
‘गठबन्धन दलका तमाम् नेता, कार्यकर्ताहरुले प्रतिगामी तत्वले चलाएको निराधार हल्ला र अनेक भ्रमलाइ चिर्दै गठबन्धन दलका साझा उम्मेद्वारहरुको पक्षमा जनलहर सिर्जना गर्ने कार्यमा अहोरात्र खटेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न निष्ठा, त्याग, समर्पण र इमान्दारीपूर्वक सबै नेता कार्यकर्ताको योगदान रहने विश्वास हामीले लिएका छौं’–विज्ञप्तिमा भनिएको छ–‘ यो विश्वासलाई कुठाराघात हुनेगरी विपक्षी उम्मेद्वारसँग साँठगाँठ गर्ने, गठबन्धन दलका उम्मेद्वारलाई नकारात्मक असर पर्ने गरी आबद्ध दलका नेता, कार्यकर्ता, भातृ, जनवर्गीय संगठनका पदाधिकारी÷सदस्यले कुनै अनुचित गतिविधि नगर्न÷नगराउन सचेत गराइन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभई जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको संरक्षणका लागि अर्को आन्दोलन भएको विज्ञप्तिमा उल्लेख छ । जनताको कठोर संघर्षबाट प्राप्त ब्यवस्था, यसका उपलब्धी र संविधानलाई मासेर निरङ्कुस अधिनायकवाद लाद्ने षडयन्त्रमा लागेको तत्वले जनतामा अनेक भ्रम सिर्जना गरेर जनमतलाई लोकतन्त्रकै विरुद्ध दुरुपयोग गर्ने दुस्साहस गरिरहेको अवस्थामा उपलब्धी रक्षाका लागि नै जनआन्दोलनका सहयात्री दलहरुबीच गठबन्धन भएको विज्ञप्तिमा जनाइएको छ ।
देशलाई अँध्यारो युगमा लैजाने प्रतिगामी कदम एवं निरङ्कुशताका विरुद्ध तमाम् देशभक्त, लोकतन्त्रवादी, क्रान्तिकारीहरुले एकाकार भएर राष्ट्र र जनताको सुन्दर भविष्य निर्माणका निमित्त चनाखो भएर चुनावी मैदानमा डटेर खट्न विज्ञप्तिमार्फत आह्वान समेत गरिएको छ ।
निर्वाचनको प्रचार–प्रसार एवं पार्टीको आन्तरिक काममा क्षेत्र, प्रदेश क्षेत्र, नगर÷गाउँ÷वडा÷टोलमा सक्रियतापूर्वक खट्ने सबै नेता÷कार्यकर्ताहरुको उपस्थिति लगत राखी मूल्याङ्कन प्रक्रियालाई अघि बढाइने जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेखित निर्देशन विपरित हुनेगरी गठबन्धन दल र दलका साझा उम्मेद्वारका विरुद्ध गतिविधि गर्ने, सामाजिक सञ्जालमार्फत नकारात्मक प्रचार–प्रसार, टिकाटिप्पणी (लाइक, कमेन्ट, सेयर) गर्ने, चोकबजारमा अनुचित र अनावश्यक कुप्रचार गरी लोकतन्त्र विरोधीको मनोवल बढाउने कार्य गरेको पाइएमा त्यस्ता ब्यक्तिहरुको सम्बन्धित समितिले अभिलेख राखी कारबाही प्रक्रिया अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।