बुद्धशान्ति ।

झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पुरा गर्न नेकपा एमालेको आवश्यक्ता रहेको बताएका छन् । 

बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित वडा स्तरीय नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई आज मंगलबार सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट झापा २ मा उम्मेदवार घिमिरेले विकासका काम पुरा गर्न एमालेलाई मत दिनुपर्ने बताएका हुन् ।  

उनले एमाले सरकारले ल्याएका धेरै महत्वपूर्ण योजनाहरु गठबन्धन सरकारले खारेज गरेको र सुरु भएका कतिपय विकासका योजना अहिले अलपत्र रहेको बताए । एमाले सरकारले कार्यन्वयन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई अहिलेको गठबन्धन सरकारले प्रथमिकता नदिदाँ नागरिकले अझैबढी सास्ती भोग्नु परेको उनको भनाई थियो । 

विद्यालय पोशाक, दिवा खाजा लगायतका कार्यक्रहरु एमाले सरकारले नै लागू गरेको भन्दै उनले अहिलेको सरकारले त्यस्ता राम्रा र महत्वपूर्ण कार्यक्रमहरुलाई समेत उपेक्षा गरेको आरोप लगाए । मुलुकलाई विकास र समृद्धीको दिशामा नेकपा एमाले वाहेक अन्य दलले पुर्याउन नसक्ने उनको भनाई थियो । 

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज समेत रहेका घिमिरेले राष्ट्रभक्ति पार्टीहरुले मात्रै देशलाई विकास र समृद्धीको दिशामा लान सक्ने भएकाले आगामी चुनावमा राप्रपा नेपालसँग तालमेल गरिएको बताएका छन् ।